रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामै तीन किसानको मृत्यु
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ८ गते । रौतहटमा खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर एक साताभित्रै तीन किसानले ज्यान गुमाएका छन्। बुधबार मात्र दुई जना किसानको मृत्यु भएको छ। माधव नारायण–४ बिसनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरीया–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। दुवै जना खेतमा मोटरबाट सिँचाइको पानी चलाउने क्रममा घाइते भई उपचारको क्रममा ज्यान गुमाएका हुन्।
यसअघि असार ३१ गते मौलापुर–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेलको पनि खेतमै करेन्ट लागेर मृत्यु भएको थियो। यस वर्ष तराई क्षेत्रमा परेको खडेरीका कारण किसानहरू विद्युतीय मोटर प्रयोग गरी सिँचाइ गर्न बाध्य भएका छन्, जसले दुर्घटनाको जोखिम बढाएको छ। स्थानीय प्रशासन र प्राविधिक निकायहरूले किसानलाई सुरक्षित तरिकाले सिँचाइ उपकरण चलाउन सचेत गराउन आवश्यक देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments