रौतहटमा एक वर्षमा साढे पाँच करोडभन्दा बढीको तस्करी नियन्त्रण, ६४० फरार प्रतिवादी पक्राउ

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते ।  रौतहट प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ५९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको तस्करीका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले भारतबाट अवैध रूपमा भित्रिएको सामग्री नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाएको जनाइएको छ। तस्करीमा प्रयोग भएका ५ स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई-रिक्सा, २४३ मोटरसाइकल र ३३ साइकलसहित २९६ सवारी साधनसमेत बरामद गरिएको छ। साथै, तस्करीमा संलग्न २२ जना विदेशीसहित १०३ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ।

त्यस्तै, फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट सजाय पाएर भागेका ६४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेकाहरूबाट ४८ लाखभन्दा बढी जरिवाना असुल गरिएको छ भने ११४ वर्ष १ महिना २० दिनको कैद सजाय कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ। रौतहट प्रहरीले सीमा सुरक्षासँगै अपराध नियन्त्रणमा सक्रिय भूमिका खेलेको देखिन्छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?