मुख्यमन्त्रीको निर्देशनपछि सप्तरीका बस्तीहरूमा ट्याङ्कर र दमकलमार्फत शुद्ध खानेपानी वितरण सुरु

30 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि सप्तरी जिल्लाका विभिन्न बस्तीहरूमा ट्याङ्कर र दमकलमार्फत शुद्ध खानेपानी वितरण सुरु गरिएको छ। मंगलबार रुपनी गाउँपालिका–१ र २ मा प्रदेश सरकारले उपलब्ध गराएको ट्याङ्कर र दमकल प्रयोग गरी पानी पुर्‍याइएको हो। जिल्लाका अन्य खानेपानी सङ्कटग्रस्त क्षेत्रहरू—जस्तै राजगढ, अग्निसाइर कृष्णासवरन, विष्णुपुर र सुरुङ्गा नगरपालिकामा पनि पानी आपूर्ति सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

उनका अनुसार खानेपानी अभाव भएका टोलबस्तीमा स्थानीय वडाअध्यक्ष तथा पालिका प्रमुखसँग समन्वय गर्दै शुद्ध पानी वितरण अभियान सञ्चालन गरिएको हो। नेपाली सेनाको सहकार्यमा सञ्चालित यस पहललाई प्रभावकारी बनाउन स्थानीय पालिकाहरूले माग अनुसार सहयोग गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। पानी संकटको तत्काल समाधान गर्न सुरु गरिएको यो प्रयास प्रभावित बस्तीहरूमा राहत ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?