सप्तरीमा लागुऔषधसहित एक जना पक्राउ, कार्कीको घरबाट ठूलो परिमाणमा सामग्री बरामद
6 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ६ गते । सप्तरी प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा राजविराज नगरपालिका–७ का ५३ वर्षीय नारायणबहादुर कार्कीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले कार्कीको घरमा छापा मार्दा लागुऔषधसहित नगद रकम र मोबाइलहरू बरामद गरिएको हो। प्रहरीले जस्ताले छाएको टहराभित्र लुकाएर राखिएको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस ३८२ क्याप्सुल, निट्राजेपाम १४९ ट्याब्लेट, निट्राभेट–१० का १५४ ट्याब्लेट, १३ थान मोबाइल, नेपाली २ लाख ५० हजार ५१० रुपैयाँ, भारतीय ६ हजार ३३० रुपैयाँ र ७९ वटा गाँजाका पुडिया फेला पारेको जनाएको छ।
कार्कीलाई साउन २ गते पक्राउ गरिएको र हाल लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा उनलाई अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको छ। प्रहरीका अनुसार, बरामद सामग्रीहरूको परीक्षणपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
कमेन्ट गर्नुहोस्
view comments