पौराइमा ४५ फिट अग्लो महादेवको मूर्ति अनावरण, धार्मिक पर्यटन प्रवर्द्धनमा अपेक्षा

30 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ६ गते । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराइ ब्रहमस्थान परिसरमा निर्माण गरिएको ४५ फिट अग्लो महादेवको मूर्ति सोमबार सार्वजनिक रूपमा अनावरण गरिएको छ। मूर्तिको अनावरण चन्द्रपुर नगरप्रमुख संजय कुमार काफ्ले र पूर्व प्रदेशसभा सदस्य धनलाल ठोक्करले संयुक्त रूपमा गरेका हुन्। वडाध्यक्ष बलराम राउतका अनुसार, विसं २०७५ मा सुरु भएको यो निर्माण कार्य विविध कारणले ढिलो भएको थियो। करिब ७६ लाख रुपैयाँको लागतमा बनेको सो मूर्ति मधेश प्रदेश सरकार र चन्द्रपुर नगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो।

महादेवको यो विशाल मूर्ति धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्र नभई पर्यटकिय आकर्षणको केन्द्र पनि बन्ने विश्वास व्यक्त गरिएको छ। नगरप्रमुख काफ्लेले यसले पौराइ क्षेत्रलाई धार्मिक पर्यटनस्थलको रुपमा थप सुदृढ बनाउने बताए। नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश मिश्रले नगरपालिकाले चन्द्रपुरका सम्पूर्ण पर्यटकीय क्षेत्रहरूको संरक्षणका लागि दीर्घकालीन योजना ल्याउनुपर्नेमा जोड दिएका छन्। महाधिवेशन प्रतिनिधि सरस्वती गिरीका अनुसार, २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको ३२ फिट अग्लो मूर्तिको सट्टामा नयाँ मूर्ति स्थापना हुँदा स्थानीयमा उत्साह थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?