सात वर्षपछि अन्तिम चरणमा सीता पुष्पवाटिका मणिमण्डप, धार्मिक पर्यटनमा नयाँ आशा

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ५ गते । जनकपुरधाम–१३, रानीबजारस्थित ऐतिहासिक स्थलमा निर्माण भइरहेको ‘सीता पुष्पवाटिका मणिमण्डप’ सात वर्षको लामो प्रतीक्षापछि अन्तिम चरणमा पुगेको छ। विवाहपञ्चमीको अवसरमा धार्मिक कार्यक्रम सञ्चालन गर्न बनाइएको यो मणिमण्डप राम–सीता विवाहस्थलको छेउमा निर्माण हुँदैछ। संघीय सरकारको सघन सहरी कार्यक्रमअन्तर्गत २०७५ सालमा १८ करोडभन्दा बढीको लागतमा सुरु भएको परियोजना ढिलाइ हुँदै सात वर्षमा बल्ल अन्तिम चरणमा पुगेको हो। निर्माण सम्पन्न हुने समय २०७८ मंसिर तोकिए पनि पाँचपटक म्याद थपेर अहिले मात्र काम टुंगिन लागेको हो।

स्थानीयवासी, पूजारी र अधिकारीहरू मणिमण्डप बनेसँगै धार्मिक पर्यटन बढ्ने र राम–सीताको ऐतिहासिक विवाहस्थल विश्वसामु चिनिने विश्वासमा छन्। दुई बिघा क्षेत्रफलमा फैलिएको परिसरभित्र जनक दरबार भवन, धर्मशाला, स्वयंवर मण्डप, प्याभिलियन, सटरसहित पसल र धार्मिक भवनहरू बनाइएका छन्। परियोजनाको दोस्रो चरणमा वाटिका परिसरको सौन्दर्यीकरण गरिने जनाइएको छ। संघीय भवन निर्माण कार्यालयका प्रमुख इन्जिनियर विनोदकुमार यादवले स्थानिय तहले अवैध संरचना हटाउन सहयोग गरे थप काम छिटो हुने बताए। निर्माण ढिलाइका कारण पर्यटन व्यवसाय फस्टाउन नसकेको स्थानीयको गुनासो छ, तर अब मणिमण्डपले जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक गन्तव्य बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?