पुनौरा धाममा बन्ने भव्य सीता मन्दिरको शिलान्यास साउनमा, अयोध्याको राम मन्दिरको झल्को दिने गरी निर्माण हुने

1 दिन पहिले प्रकाशित

एजेन्सी, असार १८ गते ।  बिहारको सीतामढ़ी जिल्लास्थित पुनौरा धाममा प्रस्तावित भव्य सीता मन्दिरको शिलान्यास सन् २०२५ अगस्ट (नेपाली साउन महिनाभित्र) मा गरिने भएको छ। यसका लागि सबै उच्च अधिकारीहरूलाई आवश्यक निर्देशन दिइएको छ। गत मङ्गलबार बिहारका मुख्यमन्त्री नीतीश कुमारको अध्यक्षतामा सम्पन्न मन्त्रिपरिषद् बैठकमा उक्त परियोजनाका लागि ८८२.८७ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको हो। बैठकपछि क्याबिनेट सचिव एस. सिद्धार्थले जानकारी दिँदै बताए कि मुख्यमन्त्री कुमारले यो योजना चाँडै सुरु गर्न निर्देशन दिएका छन् र यो मन्दिर अयोध्यास्थित श्रीराम जन्मभूमिको शैलीमा निर्माण गरिनेछ।

सीता मन्दिरको निर्माण कार्य मुख्य सचिवको निगरानीमा हुनेछ। यसका लागि राज्य सरकारले पुनौरा धाम मन्दिर न्यास समितिको पुनर्गठन गरेको छ। पुनर्गठित समितिमा बिहारका मुख्य सचिव ट्रस्टका अध्यक्ष हुनेछन् र उनी नै सम्पूर्ण निर्माण कार्यको प्रत्यक्ष निगरानी गर्नेछन्। उक्त समिति कुल ९ सदस्यीय हुनेछ, जसमा राज्यका विभिन्न विभागका सचिवहरू, सीतामढ़ीका जिलाधिकारी (डीएम), उप-विकास आयुक्त (डीडीसी) र पुनौरा धाम मठका महन्त सहभागी हुनेछन्। विकास आयुक्त समितिका उपाध्यक्ष र डीडीसी कोषाध्यक्ष रहनेछन्।

यस भव्य मन्दिर योजनाको उद्देश्य केवल धार्मिक महत्त्व बढाउनु मात्र नभई, पर्यटन र आधारभूत पूर्वाधारको विकास पनि हो। यसअघि सन् २०२४ नोभेम्बरमा समेत नीतीश सरकारद्वारा १२० करोड रुपैयाँको बजेट स्वीकृत गरिएको थियो, जुन बजेट भूमिस्वरूप अधिग्रहण, पर्यटक सुविधाको विस्तार र पूर्वाधार विकासमा खर्च गरिने भनिएको थियो। हालसम्म ५० एकडभन्दा बढी जमिन अधिग्रहण भइसकेको छ, जुन अहिले निर्माण कार्यका लागि प्रयोग गरिनेछ।

सीता मन्दिरको यो आयोजना केवल धार्मिक दृष्टिकोणले होइन, सांस्कृतिक तथा पर्यटकीय महत्त्वका हिसाबले पनि राज्यका लागि ऐतिहासिक हुनेछ भन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?