शृङ्खलाबद्ध हत्या: बढ्दो आपराधिक गतिविधिले सर्वसाधारण त्रसित
4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १३ गते । सप्तरीमा पछिल्ला दिनमा एकपछि अर्को हत्या भएका घटनाले जिल्लाबासीमा भय र असुरक्षा फैलिएको छ। डाक्नेश्वरी–८ का राजकुमार खंगको शव बिहीबार राजगढ–४ स्थित पोखरीछेउ फेला परेको हो, जसको घाँटी रेटिएको थियो। यसअघि, जेठ दोस्रो साता सुरुंगा–८ मल्हनमामा कान्तलाल चौधरीको हत्या डाँकाहरूको समूहले गोली र धारिलो हतियार प्रयोग गरी गरेका थिए। यस्तै, वैशाख १ गते राति हरिपुर राम टोलबाट बेपत्ता भएकी पूजा कुमारी रामको शव तीन सय किलोमिटर टाढा शंकास्पद अवस्थामा फेला परेको थियो। ती सबै घटनाका दोषी अझैसम्म पक्राउ नपर्नु जिल्लाको सुरक्षाप्रति गम्भीर प्रश्न खडा भएको स्थानीयको भनाइ छ।
सप्तरीमा विगत चार वर्षमा ५५ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमा हालसम्म ५८ जना प्रतिवादी पक्राउ परेका छन् भने ५४ जना अझै फरार छन्। चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र १० वटा हत्या मुद्दा दर्ता भएका छन्। प्रहरी अनुसन्धानमा तालिमप्राप्त कुकुरको सहयोग लिइए पनि पछिल्ला हत्याहरूको दोषी पहिचान गर्न सकिएको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेतका अनुसार फरार व्यक्तिहरूको खोजी जारी छ, तर क्रमशः बढ्दो अपराध र गिरफ्तारीमा ढिलाइले सर्वसाधारणको विश्वासमा आघात पुगेको छ।
कमेन्ट गर्नुहोस्
view comments