सिरहामा प्रेम प्रसंगपछि युवकमाथि चक्कु प्रहार, युवतीले छतबाट हाम फालिन्
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ६ गते । सिरहाको गोलबजार नगरपालिका–४ मा एक युवतीले युवकमाथि चक्कु प्रहार गरेकी छन्। बिहीबार अपराह्न भएको घटनामा गोलबजार–२ की १७ वर्षीया अनिशा मण्डलले गोलबजार–१३ का २४ वर्षीय अशोककुमार महतोमाथि घाँटी र शरीरका अन्य भागमा चक्कु प्रहार गरेकी हुन्। अशोक सो स्थानमा कोठा भाडामा लिएर बस्दै आएका थिए, जहाँ युवती केही समय बसेपछि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ। घाइते अशोकको अहिले गोलबजारस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, घटनाको बेला घरभित्रको हल्लाखल्ला सुनेर प्रवेश गरेका स्थानीयले युवतीलाई छतमाथिबाट हाम फाल्न लागेको अवस्थामा देखेका थिए। उनले भर्याङ हुँदै छतबाट हाम फाल्दा उनी पनि घाइते भएकी छन् र अहिले प्रादेशिक अस्पताल, सिरहामा उपचाररत छिन्। स्थानीयहरूका अनुसार ती युवक–युवतीबीच प्रेम सम्बन्ध रहेको थियो भने उनीहरूबीच नियमित भेटघाट हुँदै आएको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको सिरहा प्रहरीका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments