नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको अभियोगमा सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ वेस्टर्न रिजन कलेज, पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेको भनी नक्कली प्रमाणपत्र प्रयोग गरेर करार सेवामा नियुक्ति पाएको जनाएको छ।
आयोगमा दर्ता उजुरीका आधारमा गरिएको अनुसन्धानमा झाको शैक्षिक प्रमाणपत्र नक्कली पाइएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको ठहर गर्दै कैद र जरिवाना मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। आयोगले सार्वजनिक पदमा नक्कली प्रमाणपत्र प्रयोग गरी अनधिकृत रूपमा सेवा लिएको घटनालाई गम्भीर भ्रष्टाचारका रूपमा लिँदै विशेष अदालतमा मुद्दा अघि बढाएको हो।
कमेन्ट गर्नुहोस्
view comments