जनकपुरधाम, असार २ गते । महोत्तरीको बर्दिबासमा ५० ग्राम ब्राउन सुगरसहित जलेश्वर नगरपालिका–२ का ३२ वर्षीय सिकेन्द्र साह पक्राउ परेका छन्। जेठ २१ गते साँझ रामानन्द चोकमा लु २ च २१२४ नम्बरको कारसहित पक्राउ परेका साहको गाडीभित्र चकलेटको बट्टामा लागुऔषध लुकाइएका थिए। अनुसन्धान अनुसार, उनी भारतको साहरघाटबाट स्कुटीमा ब्राउन सुगर लिएर फर्किँदा स्कुटी बिग्रिएपछि अटोमार्ग हुँदै जलेश्वर आएका थिए र त्यसपछि कारमा बर्दिबास आउँदै गर्दा समातिएका हुन्। साहले उक्त ब्राउन सुगर प्रतिग्राम २ हजारको दरले किनेका थिए, जुन उनले बर्दिबासमा ३ लाख ५० हजारमा बिक्री गर्ने योजना बनाएका थिए।
प्रहरी अनुसन्धानबाट खुल्दा साहले दुई वर्षदेखि लागुऔषध सेवन गर्दै आएकामा पछिल्लो समय नेपालमा ‘भरिया’को रूपमा आपूर्ति गर्न थालेका थिए। जलेश्वरमा सुनचाँदी पसल सञ्चालन गर्दै उनले भारतदेखि काठमाडौंसम्मको आपूर्ति सञ्जाल विस्तार गरेका थिए। पछिल्लो ११ महिनामा बर्दिबास प्रहरीले १८ वटा लागुऔषध मुद्दा दर्ता गर्दै १३ जना कारोबारी पक्राउ गरिसकेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विकास बमका अनुसार बर्दिबासमा लागुऔषध सेवन सामान्य झैं बनेको छ, जसले प्रहरीको स्रोत र क्षमतामाथि गम्भीर चुनौती सिर्जना गरेको छ। महोत्तरीमा मात्रै पछिल्लो ११ महिनामा ५३ मुद्दामा ७१ जना पक्राउ परिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments