सप्तरीमा जबर्जस्ती गर्भपतन गराएको आरोपमा सासू–ससुरा पक्राउ

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २९ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ सकरदहीमा एक बुहारीको जबर्जस्ती गर्भपतन गराएको आरोपमा सासू र ससुरा पक्राउ परेका छन्। पक्राउ परेका परमेश्वरदेवी खंग र चुलबुल देवी खंगले १७ हप्ताकी गर्भवती अनिषा खंगलाई बलपूर्वक औषधि खुवाएर गर्भपतन गराएको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।

पीडित अनिषा खंगका अनुसार मंगलबार राति सासू र काकी सासू सीता खंगले बल प्रयोग गर्दै गर्भपतन गराउने औषधि खुवाएका थिए। भाग्ने प्रयास असफल भएपछि उनी प्रसव पीडाले छटपटाउँदै स्थानीयको सहयोगमा प्रहरीसम्म पुगेकी थिइन्। गम्भीर अवस्थामा रहेका अनिषालाई गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार अत्यधिक रक्तश्रावबीच उपचारकै क्रममा गर्भपतन भएको हो। घटनामा संलग्नहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?