रौतहटको विद्यालयबाट कम्प्युटर चोरी गर्ने ३ युवक पक्राउ, आरोपीको घरबाट पुराना चोरीका सामान समेत फेला
23 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २७ गते । रौतहटको कटहरिया नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय मुकेश दास, १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दास रहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर चोरी मुद्दामा म्याद थप गर्दै अनुसन्धान भइरहेको छ।
गत शनिवार राति विद्यालयको लेखा शाखाको ताल्चा फुटाई डेल कम्पनीको एक थान कम्प्युटर सेट चोरी गरिएको थियो। अनुसन्धानको क्रममा आइतबार साँझ प्रहरीले आरोपी राजु दासको घरमा छापा मार्दा चोरी गरिएको सबै सामानसँगै पहिले चोरी भएका केही उपकरणहरू पनि बरामद गरिएको छ।
विद्यालयका प्रधानाध्यापक राम मङ्गल यादवका अनुसार सो विद्यालयमा यसअघि पनि २०७७ र २०८१ सालमा कम्प्युटरलगायतका सामग्री चोरी भइसकेका थिए। प्रहरीले आरोपीहरूकै संलग्नतामा ती अघिल्ला घटनाहरू पनि भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ। विद्यालयकै छेउमा घर भएका ती युवाहरूले बारम्बार चोरी गर्दै आएको प्रहरीको दाबी छ।
कमेन्ट गर्नुहोस्
view comments