सर्लाहीको मलंगवाबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन युवक पक्राउ
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, जेठ २३ गते । सर्लाहीको सदरमुकाम मलंगवाबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। ‘नाइट्राभेट–टेन’ लेखिएको ८९ पत्ता (कुल २,६७० चक्की) सहित मलंगवा नगरपालिका–१० का २८ वर्षीय शनि झा, मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका–२ का १८ वर्षीय पङ्कजकुमार राउतलाई नियन्त्रणमा लिइएको हो। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मलंगवा बसपार्कबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूले प्रयोग गरिरहेको बीआर ३२ एक्स १७५३ र बीआर ३० एन ७८२५ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार, पक्राउ परेका युवकमाथि सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। भारतसँगको खुला सीमा र ट्याब्लेटजन्य लागुऔषधको सहज उपलब्धताका कारण तराईका युवामाझ लागुऔषधको दुरुपयोग र यससँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भइरहेको प्रहरीको निष्कर्ष छ।
कमेन्ट गर्नुहोस्
view comments