इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

2 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २२ गते । नेपालको इतिहासमा पहिलोपटक एकजना पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। आयोगका अनुसार पतञ्जलीका नाममा हदबन्दी छुटमा खरिद गरिएको जग्गा दुई महिनामै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गर्न मन्त्रिपरिषद्बाट स्वीकृति दिइएको थियो।

यो प्रकरण २०६६ सालको हो, जब प्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपालले काभ्रेको बनेपामा पतञ्जली योगपीठलाई ५९३ रोपनी जग्गा हदबन्दी छुटमा किन्ने स्वीकृति दिएका थिए। तर पछि उक्त जग्गामध्ये ३५३ रोपनी हाउजिङ कम्पनीलाई बिक्री गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो। आयोगले पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायतलाई पनि प्रतिवादी बनाएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अध्यक्ष नेपालसँग मात्रै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?