ठगी अभियोगमा रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो काठमाडौंबाट पक्राउ, धनुषा पठाइयो
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २१ गते । रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो ठगी र आपराधिक विश्वासघातको अभियोगमा काठमाडौंबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मंगलबार पवनलाई पक्राउ गरी अनुसन्धानका लागि धनुषा पठाइएको हो। उनी जनकपुरधाम उपमहानगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौंको सिफलचौरमा बसोबास गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पनि पवनको पक्राउ पुष्टि गरेका छन्।
पवन महतोसहित उनका बुवा बलराम महतो र भाइ रमण महतोविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो। उनीहरूविरुद्ध ठगी र आपराधिक लाभसम्बन्धी मुद्दामा जाहेरी परेको छ। मधेस प्रदेश सरकारले दिगहवा–लोखरम सडक निर्माणका लागि रमण कन्स्ट्रक्सन र एस एन्ड बी प्रालिसँग संयुक्त सम्झौता गरेको थियो। तर, रमण कन्स्ट्रक्सनले साझेदार कम्पनीलाई जानकारी नदिई ९ करोडभन्दा बढीको बैंक ग्यारेन्टी रकम तानेको भन्दै एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले उजुरी दिएका थिए। यो कम्पनीले काठमाडौंको धरहरा पुनर्निर्माणको ठेक्का पनि लिएको र अघिपछि विभिन्न विवादमा मुछिँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments