राजावादी नेताहरूको अंगरक्षक फिर्ता, आन्दोलन रोकिएपछि मात्र पुनः खटाइने

3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २१ गते । राजसंस्था र हिन्दूराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिएका राजावादी नेताहरूलाई सरकारले हाललाई अंगरक्षक (पीएसओ) उपलब्ध नगराउने निर्णय गरेको छ। आन्दोलन सुरु भएलगत्तै सरकारले उनीहरूको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीहरू फिर्ता गरेको थियो। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका नेता बुद्धिमान तामाङले उक्त निर्णयबारे प्रश्न उठाएपछि गृहमन्त्री रमेश लेखकले आन्दोलन नरोकेसम्म अंगरक्षक नदिइने स्पष्ट पारे।

गृहमन्त्री लेखकका अनुसार राजावादीहरूद्वारा भइरहेका प्रदर्शनहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक परेपछि ती सुरक्षाकर्मीहरूलाई अन्यत्र खटाइएको हो। यसअघि राप्रपाका नेता ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता भइसकेको पार्टी स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालयले ती सुरक्षाकर्मीहरूलाई आन्दोलनको ब्रिफिङका लागि बोलाइएको जनाएको भए पनि उनीहरू अझैसम्म पूर्ववत रूपमा खटिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?