ईभी कारमार्फत गाँजा तस्करी, बर्दिवासबाट भारत लैजाँदै गरेका युवक पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते । महोत्तरीको बर्दिवासबाट भारततर्फ ईभी कारमा गाँजा तस्करी गर्ने प्रयासमा रहेका एक युवक शुक्रबार राति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बा ०१–०३० च ७८०५ नम्बरको सेतो ईभी कारलाई माईस्थानबाट गौशालातर्फ आउँदै गर्दा रोकेर जाँच गर्दा ८ पोका गाँजासहित कुल ४० किलोग्राम लागुऔषध बरामद भएको हो। कारको डिक्की, झोला र अन्य भागमा सेतो प्लास्टिकले बेरेर कालो डोरीले बाँधेर लुकाइएको अवस्थामा गाँजा भेटिएको र महोत्तरी बर्दिवास–११ का ३१ वर्षीय रंगलाल सेङतानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सेङतान, कार र बरामद गाँजा हाल इलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भइरहेको छ। महोत्तरीमा पछिल्ला दिनहरूमा गाँजा तस्करीका गतिविधि बढ्दै गएका छन्। प्रहरीले केही दिनअघि मात्रै बर्दिवासमा स्कर्पियो गाडीबाट १५८ किलोग्राम गाँजा बरामद गरेको थियो भने बिहीबार जलेश्वर र शुक्रबार साँझ रामगोपालपुरमा पनि गाँजा फेला परेको थियो। प्रहरीका अनुसार सीमावर्ती क्षेत्रबाट भारततर्फ लागुऔषध तस्करी तीव्र रुपमा भइरहेकाले निगरानी थप कडा बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?