महोत्तरीमा २० किलो गाँजासहित दुई जना पक्राउ, तस्करीमा संलग्नता आशंकामा अनुसन्धान

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १५ गते । महोत्तरीको जलेश्वरबाट मोटरसाइकलमा २० किलो गाँजा बोकेर आउँदै गरेका दुई व्यक्तिलाई प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जलेश्वर नगरपालिकाको संयुक्त टोलीले प्र.२–०२–००१ प ६६६२ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा कालो झोला र चामलको बोरामा लुकाइ राखिएको गाँजा बरामद भएको हो। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१३ का ४६ वर्षीय शिव नारायण चौधरी र मनराशिस्वा नगरपालिका–१० की ४० वर्षीया अजमैरी खातुन रहेका छन्।

गाँजा रातो प्लास्टिकले बेरी खरानी रङको डोरीले बाँधिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र कुमार भट्टले जानकारी दिए। ती दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमै राखिएको छ। पछिल्लो समय महोत्तरीबाट भारततर्फ गाँजा तस्करी बढ्दै गएको प्रहरीको भनाइ छ। यसै सन्दर्भमा मंगलबार राति मात्र बर्दिबासमा स्कारपियो गाडीमार्फत १५८ किलो गाँजा ओसार्दै गरेका दुई जना पनि प्रहरीले पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?