गृहमन्त्री लेखकलाई लिएर बालुवाटार पुगे देउवा, संसद अवरोध हटाउने प्रयास तीव्र

1 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ १४ गते ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै संसदमा अवरोध गरिरहेका प्रमुख प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूको दवाबका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री लेखकलाई लिएर मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। संसदमा लेखकको राजीनामाको माग तीव्र भइरहेका बेला देउवाको यो भेट छलफल र संकट समाधानको प्रयासका रूपमा देखिएको छ।

सरकारलाई आर्थिक वर्ष २०८२/८३ को बजेट बुधबार संसदमा पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले संसद अवरुद्ध हुनु सरकारका लागि थप चुनौती बनेको छ। मंगलबारको संसद बैठक विपक्षीको अवरोधका कारण स्थगित गरिएको थियो भने आज (बुधबार) बिहान ११ बजेका लागि नयाँ बैठक बोलाइएको छ। सभामुख देवराज घिमिरेले दलहरूसँग संवाद गरी सहमति खोजे पनि कुनै निष्कर्ष ननिस्किएकाले आजको बैठक पनि अवरुद्ध हुने सम्भावना कायमै छ। विपक्षीहरू गृहमन्त्रीको राजीनामाको अडानबाट पछि नहट्दा, सरकार तीव्र दबाबमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?