गृहमन्त्रीको राजीनामा माग्नु अनुचित, संविधान संशोधन जरुरी : नेता सिटौला

1 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ११ गते ।  नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले अध्यागमन विभागका एक कर्मचारीको गल्तीलाई आधार बनाएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत नजिर बसाउने कार्य भएको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिटौलाले छानबिन प्रक्रियाको प्रतीक्षा नगरी मन्त्रीमाथि नैतिकताको नाममा राजीनामा माग गर्नु न्यायसंगत नहुने बताए। उनले विगतमा मन्त्री स्वयंमाथि आरोप लागेका अवस्थामा राजीनामा स्वाभाविक भएको भए पनि अहिले भने कर्मचारीमाथि मात्र दोषारोपण भएकाले अख्तियारको अनुसन्धान पूर्ण नभएसम्म प्रतीक्षा गर्नुपर्ने धारणा राखे। यसअघि कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए।

त्यस अवसरमा नेता सिटौलाले हिन्दु राष्ट्र वा संवैधानिक राजसंस्थाबारे जनमत सङ्ग्रह आवश्यक नरहेको स्पष्ट पार्दै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान यथार्थ र आवश्यकताअनुकूल रहेको उल्लेख गरे। उनले संविधान अझ परिमार्जन र परिष्कृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणा नेपालका लागि उपयुक्त नभएको बताए। साथै, उनले नेपाली कांग्रेसको २०८२ को मंसिरमा महाधिवेशन सम्भव नभएकोले २०८३ को दशैं आसपासमा तयारी गर्नुपर्नेमा पनि जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?