गणतन्त्र दिवसदेखि सुरु हुने आन्दोलन निर्णायक हुने : राप्रपा अध्यक्ष लिङ्देन
2 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गते गणतन्त्र दिवसदेखि सुरु हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले प्रधानमन्त्रीलाई 'हेलिकोप्टरबाट भाग्न बाध्य पार्ने' गरी आन्दोलन चर्काउने चेतावनी दिए। उनले आन्दोलनलाई अन्तिम परिणतिमा पुर्याउने बताउँदै जनसहभागिता बढाउन सबैलाई परिवारसहित सहभागी हुन आह्वान गरे। आन्दोलनमा छरछिमेक र आफन्तलाई पनि सहभागी गराउन अनुरोध गर्दै, नसके घरमा ताला लगाएर सपरिवार आउने वातावरण बनाउन आग्रह गरे।
लिङ्देनले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने स्पष्ट पारे। उनले यसपटकको आन्दोलन सरकारको दमनलाई पनि रोक्ने गरी संयमित रूपमा सञ्चालन हुने बताए। भारतमा ब्रिटिश शासनविरुद्धको सत्याग्रहको उदाहरण दिँदै उनले हिंसा बिना पनि परिवर्तन सम्भव हुने तर्क गरे। गत चैतमा भएको केही हिंसात्मक प्रदर्शनप्रति संकेत गर्दै उनले आन्दोलन संयमित रूपमा अगाडि बढ्ने र मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अनुगमनका लागि आग्रह गरिने जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments