सर्लाहीमा तस्लिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर कुटपिट, पाँच जना पक्राउ

15 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ५ गते । सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिका–५ मा तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। शनिबार भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जनस्तरमा चासो बढेको छ। प्रारम्भिक अनुसन्धान अनुसार तस्लिम अन्सारी र राजेन्द्र साह सोनारबीच सुनचाँदीको गरगहना बनाउने विषयमा विवाद भएको बुझिएको छ। घटनामा संलग्न राजेन्द्र साह, उनका छोरा कमलेश, पप्पुकुमार यादव, राहुलकुमार महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै पक्षबीच हातपात भएको पुष्टि भएको छ भने थप अनुसन्धान जारी छ। राजेन्द्र पक्षका चार जनामाथि अमानवीय व्यवहार तथा धर्म सम्बन्धी कसुरमा अनुसन्धान भइरहेक‍ो छ भने तस्लिमविरुद्ध अभद्र व्यवहारको आरोपमा प्रक्रिया अघि बढाइएको छ। भिडियो सार्वजनिक भएपछि गाउँमा पञ्चायतीसमेत बसेको र त्यसपछि जिल्ला प्रहरी कार्यालय मलंगवाले कानुनी कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?