पूर्वमन्त्री विजयकुमारसहित आठ जनाविरुद्ध करोडौं भ्रष्टाचार मुद्दा दायर
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध २९ करोडदेखि ५६ करोड रुपैयाँसम्मको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, सर्लाहीको बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा माछापोखरी निर्माणका नाममा करोडौं रकम दुरुपयोग गरिएको आरोप छ। आयोगले पूर्वमन्त्री विजयकुमारले कानुनी मर्यादा विपरीत एकल रूपमा सम्झौता गरेर संघीय तथा प्रदेश सरकारको रकम अनियमित रूपमा वितरण गराएको दाबी गरेको छ।
यस प्रकरणमा बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित इन्जिनियर तथा लेखा अधिकृतहरूविरुद्ध समेत विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको हो। आयोगका अनुसार, वन क्षेत्रबाट ढुङ्गा, गिटी, माटो अनाधिकृत रूपमा उत्खनन गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्याइएको र ती संरचनाहरू माछाविहीन अवस्थामा भए पनि पटक–पटक अनुदान माग गरिएको तथ्य खुलेको छ। अब विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै दोषी ठहर भए कडा सजायको बाटो खुल्नेछ।
कमेन्ट गर्नुहोस्
view comments