सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ
6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ४ गते । सिरहा जिल्लामा प्रहरीले लागुऔषध कारोबार र अवैध रकम ओसारपसारमा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ। लहान नगरपालिका–१२ स्थित भोटिया चौकमा पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव र उनकी बहिनी किरण कुमारी यादवलाई पक्राउ गरी प्रहरीले २२.९ ग्राम हिरोइन, ५१ हजार ४५० रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ। थप अनुसन्धानका क्रममा दिनेशको घरबाट १८६ ग्राम हिरोइन, ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ, ३५ हजार ७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक डिजिटल तराजु फेला परेको सिरहा प्रहरीले जनाएको छ। दिनेश यादव यसअघि पनि लागुऔषध मुद्दामा पक्राउ परिसकेका थिए।
यस्तै, बरियारपट्टि गाउँपालिका–३ चमार टोलबाट भारतको लदनिया हुँदै आएका कृष्ण कुमार यादव र निरज रायलाई पक्राउ गर्दा उनीहरूबाट ७१० मिलीग्राम हिरोइन बरामद गरिएको हो। त्यसै दिन सिरहा नगरपालिका–२ महावीर चौकबाट संजय कारकलाई चेकजाँच गर्दा उनको शरीरमा लुकाइएको अवस्थामा १६ लाख ३८ हजार ३७० रुपैयाँ फेला परेको थियो। सबै पक्राउ परेकाहरूलाई आवश्यक म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments