पत्रकार फणिदेव महतको ब्रेन ट्युमरका कारण निधन, पत्रकारिता क्षेत्र शोकमा

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३१ गते । दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका रौतहट चन्द्रपुर–४ निवासी पत्रकार फणिदेव महतको मंगलबार राति ब्रेन ट्युमरका कारण निधन भएको छ। ४८ वर्षीय महतको गत वर्ष काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा ट्युमरको शल्यक्रिया गरिएको थियो भने त्यसपछि भारतको नयाँ दिल्लीमा साइबरनाइफ प्रविधिबाट थप उपचार गरिएको थियो। पछिल्लो एक महिनादेखि उनी पाटन अस्पताल र अन्नपूर्ण न्युरोमा उपचाररत थिए।

महत अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक थिए। साथै, उनी प्रेस चौतारी नेपाल मधेश प्रदेशका पूर्वअध्यक्षसमेत थिए। मिजासिला स्वभावका महतको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले गहिरो दुःख व्यक्त गरेकी छन्। उनकाे पार्थिव शरीरलाई काठमाडौंबाट रौतहट ल्याइएको छ र आजै अन्तिम संस्कार गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?