रौतहटमा विवाहको छ महिनामै युवतीको शंकास्पद मृत्यु, माइती पक्षद्वारा दाइजोका कारण हत्या भएको आरोप

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३० गते । रौतहटको कटहरिया नगरपालिका–५ मा २१ वर्षीया सानिया प्रविनको शंकास्पद मृत्यु भएको छ। कटहरिया–३ बडेरवा टोलका अरमान राय भाटसँग करिब ६ महिनाअघि मुस्लिम परम्परा अनुसार विवाह गरेकी सानिया आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाएर सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको थियो। पोस्टमार्टमपछि मृतकको शव उनकी आमा कायमा खातुनले बुझेर सतगत गरिएको प्रहरी स्रोतले जनाएको छ।

मृतककी आमा कायमा खातुनका अनुसार विवाहपछिका महिनाहरूमा ज्वाइँ अरमान रायले निरन्तर दाइजोको माग गर्दै शारीरिक तथा मानसिक यातना दिने गरेका थिए। उनले यातना सहन नसक्दा सानियाको योजनाबद्ध हत्या गरिएको र त्यसलाई आत्महत्या जस्तो देखाउन खोजिएको आरोप लगाएकी छन्। माइती पक्षले सानियाको मृत्यु दाइजोसम्बन्धी हिंसाबाट भएको भन्दै प्रमुख दोषीलाई कडा कारबाहीको माग गरेका छन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता भइसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी राजन कार्कीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?