समाराेहमा पेस्तोल पड्काएकी जसपा नेतृ बबी सिंहको विषयमा अनुसन्धान, सर्लाहीबाट पेस्तोल बरामद
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले एक वैवाहिक समारोहमा नाच्दै प्रयोग गरेको भनिएको पेस्तोल सर्लाही प्रहरीले बरामद गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो भने सप्तरी प्रहरी प्रमुखका अनुसार नेतृ यादवसँग बयान लिने प्रक्रिया पनि सुरु भइसकेको छ।
नेतृ यादवले आफूले वास्तविक बन्दुक प्रयोग नगरेको दाबी गर्दै उक्त वस्तु 'रेन्जर टोय' नामक खेलौना मात्र भएको स्पष्टिकरण दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भारतको सीमावर्ती शहर सीतामढीमा आफन्तको आग्रहमा स्थानीय चलनअनुसार रमाइलो गर्दै नाचेको र त्यसक्रममा प्रयोग भएको खेलौनालाई अतिरञ्जित नगर्न सबैमा अनुरोध गरेकी छन्। साथसाथै, पारिवारिक क्षणमा खिचिएको भिडियोलाई सन्दर्भबिना सामाजिक सञ्जालमा फैलाइएको भन्दै आपत्ति जनाएकी छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार उक्त पेस्तोल मलंगवा नगरपालिका–२ स्थित एक घरबाट बरामद गरिएको हो। घटनास्थल र विवरणअनुसार, गत वैशाख ११ गते कोमल सुप्रियाको हल्दी कार्यक्रममा उक्त पेस्तोल पड्काइएको भन्ने सूचना आएको छ। बरामद गरिएको हतियारलाई थप परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान सर्लाहीबाट नै अघि बढाइनेछ।
कमेन्ट गर्नुहोस्
view comments