जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता, मधेस र थारू आन्दोलनका प्रतिनिधि शक्ति एकै थलोमा

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख १७ गते ।  तराई–मधेसका दुई ठूला राजनीतिक शक्ति जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी एकता हुँदैछ। कमलास्थित प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको हो। फरक पृष्ठभूमिबाट उदाएका यी पार्टीहरू मधेस र थारू समुदायका प्रतिनिधि शक्ति मानिन्छन्। सिके राउत नेतृत्वको जनमत पार्टी मधेस छुट्टै राज्यको मागसहितको स्वराज अभियानबाट मूलधारको राजनीतिमा आएको हो भने, नागरिक उन्मुक्ति पार्टी थरूहट आन्दोलन र टीकापुर घटनासँग जोडिएको छ, जसका कारण रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो।

२०७९ को निर्वाचनअघि नै यी दुई पार्टीबीच एकता प्रयास सुरु भए पनि निर्वाचनको व्यस्तताका कारण त्यो सम्भव भएन। पछिल्लो समय सिके राउत र रेशम चौधरी आफैं एकता प्रक्रियामा सक्रिय भएर सहमति जुटाएका हुन्। सोमबार र मंगलबार नागरिक उन्मुक्तिको केन्द्रीय समिति र मंगलबार साँझ जनमतको कार्यकारिणी समितिको बैठक बसेर एकतालाई अन्तिम रूप दिइएको हो। यो एकताले मधेस र थारू समुदायको साझा राजनीतिक आवाजलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?