सीतामढीमा किन्नर र तीन प्रेमीबीचको त्रिकोणीय प्रेमकथा : एकको हत्या, तीन पक्राउ

1 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख १५ गते ।  भारतको बिहार राज्यको सीतामढी जिल्लामा प्रेम सम्बन्धका कारण एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँ एक किन्नर र उसका तीन प्रेमीबीचको प्रेम त्रिकोणीय सम्बन्धले एउटा ज्यान लिएको छ। दुई प्रेमी र किन्नर मिलेर एक अन्य प्रेमीको हत्या गरेका छन्। यस रहस्यमय घटनाको पर्दाफास गर्न एसपी अमित रंजनले एक विशेष प्रहरी टोली गठन गरेका थिए। कडा अनुसन्धानपछि प्रहरी टोलीले हत्या सम्बन्धी रहस्य सुल्झाएको मात्र होइन, किन्नर र उसका दुई प्रेमीलाई पक्राउ गरी हत्या सम्बन्धी प्रमाणहरू पनि बरामद गरेको छ।

गत अप्रिल ४ मा सोनबरसा थाना अन्तर्गत ग्राम कचहरीपुर र मुसहरनियाँ गाउँ नजिकैबाट प्रहरीले एक अज्ञात व्यक्तिको शव फेला पारेको थियो। घटनासँग सम्बन्धित प्राथमिकी दर्ता भएपछि, एसपीले अज्ञात शवको पहिचान र हत्याको कारण पत्ता लगाउन विशेष टोली गठन गरेका थिए। मानवीय तथा प्रविधि आधारित अनुसन्धानपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटना क्रम स्पष्ट हुँदै गएको हो।

पक्राउ परेकामा भुतही थाना क्षेत्रको बन्दरझूला गाउँका अजय कुमार, राम कैलाश साहका छोरा रविन्द्र कुमार, कन्हौली थाना क्षेत्रको अररिया गाउँकी किन्नर रहीमुल उर्फ पूजा (२६ वर्ष), र सोनबरसा थाना क्षेत्रको कचहरीपुर गाउँका लालबाबू राय रहेका छन्। सदर डीएसपी-२ आशीष आनन्दका अनुसार, यी सबै अभियुक्तहरूले अपराधमा संलग्नता स्वीकार गरेका छन्। अज्ञात शवको पहिचान कन्हौली थाना क्षेत्रको अररिया गाउँ निवासी सदरे आलमको रूपमा भएको हो।

डीएसपीका अनुसार, मृतक सदरे आलम र किन्नर पूजा बीच प्रेम सम्बन्ध थियो। दुबैजना लुधियानामा बस्दै आएका थिए र होली पर्व मनाउन गाउँ आएका थिए। तर गाउँ आएपछि किन्नर पूजा र रविन्द्र कुमारबीच पनि प्रेम सम्बन्ध बढ्न थालेको थियो। यहीबीच अन्य केही व्यक्तिसँग पनि किन्नरको सम्बन्ध बढेको बताइएको छ।सदरे आलम र किन्नरको सम्बन्धले रुष्ट भएका रविन्द्र कुमार र अन्य अभियुक्तहरूले अन्ततः सदरे आलमको हत्या गर्ने योजना बनाएका थिए। हत्या पश्चात मृतकको मोबाइल फोन, गला घाँटी च्याप्न प्रयोग गरिएको डोरी, घटनामा प्रयोग भएको सेतो रंगको स्कर्पियो गाडी र अभियुक्तहरूको मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।यो घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक धर्मेन्द्र कुमार, पुअनि संजय कुमार, मुकेश कुमार, भवानी कुमारी, दीपक कुमार र अरुण कुमारको समेत सक्रिय सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?