तीन नेपाली किशोरीलाई भारत लैजाँदै गरेको आरोपमा भारतीय युवक पक्राउ
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ६ गते । मकवानपुरका तीन किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा एक भारतीय युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल र प्रहरीले बिहारको पूर्वीचम्पारणस्थित कुण्डवा चैनपुरबाट १५, १६ र १७ वर्षीया तीन किशोरीको उद्धार गरेको हो। पक्राउ पर्नेमा पूर्वीचम्पारणको ढाका थाना क्षेत्रका २३ वर्षीय सलाउद्दीन अन्सारी रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार मुख्य सीमा नाकामा निगरानी कडा भएपछि किशोरीहरूलाई रौतहटको ग्रामीण वैकल्पिक बाटो हुँदै भारत लगिएको आशंका गरिएको छ।
भारतीय प्रहरीका अनुसार अन्सारीको साथबाट विद्युतीय स्कुटर, पाँच थान मोबाइल, भारतीय आधार कार्ड, स्थायी लेखा नम्बर कार्ड तथा नेपाली र भारतीय रुपैयाँ बरामद भएको छ। मोतीहारीका प्रहरी प्रमुख स्वर्ण प्रभातले कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई नेपाल प्रहरीमार्फत परिवारको जिम्मा लगाइने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले पनि भारतीय प्रहरीसँग समन्वय भइरहेको जानकारी दिँदै भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई नेपाल ल्याइने बताए। घटनामा मानव बेचबिखन तथा ओसारपसारको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments