"सिंहदरबारमै राप्रपा अध्यक्ष लिङ्देन, सांसद शाहीसहित नेताहरू प्रहरी नियन्त्रणमा"

3 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही र उपाध्यक्ष बुद्धिमान तामाङलाई प्रहरीले आइतबार सिंहदरबार परिसरमै नियन्त्रणमा लिएको छ। संसद् भवनस्थित संसदीय दलको कार्यालयमा छलफल सकेर निषेधित क्षेत्रतर्फ प्रदर्शनको तयारी गरिरहेका बेला उनीहरूलाई प्रहरी टोलीले रोकेको हो। नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने कोसिस गरेपछि सुरक्षाकर्मीहरूले लिङ्देनसहितलाई गाडीमा हालेर नियन्त्रणमा लिएका हुन्।

राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रमसहित प्रदर्शन आह्वान गरेको थियो। पार्टीका सांसदहरू सिंहदरबारस्थित कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष लिङ्देनले सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध आवाज उठाउन बाध्य भएको बताए। यता, बानेश्वरमा पनि राप्रपाका कार्यकर्ताहरूले प्रदर्शन तीव्र बनाउँदै प्रहरीद्वारा राखिएको ब्यारिकेड तोड्ने प्रयास गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?