पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि दुव्र्यवहारको आरोप, प्रहरी अनुसन्धानमा
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३ गते । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको गम्भीर आरोप लागेको छ। सो आरोप सार्वजनिक भएपछि प्रहरी प्रशासनले घटनाबारे औपचारिक रूपमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसर अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले अहिराजविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको हो। परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरेका छन्, तर अनुसन्धान संवेदनशील भएको कारण विस्तृत जानकारी दिन अस्वीकार गरे।
‘अनुसन्धान भइरहेको छ । अनुसन्धानकै क्रममा रहेका कारण थप विवरण खुलाउन सक्ने अवस्था छैन,’ एसपी बोहराले भनेका छन्। यद्यपि, अहिराजमाथि लागेको दुव्र्यवहारको प्रकृति र घटना कहिले भएको हो भन्ने विषयमा प्रहरीले हालसम्म स्पष्ट विवरण दिएको छैन।
यस विषयमा प्रतिक्रिया लिन अहिराजसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो, तर उनको मोबाइल फोन बन्द रहेकोले प्रतिक्रिया लिन सकिएको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ भने प्रहरीको अनुसन्धान जारी रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments