पूर्वविशिष्टलाई आजीवन सेवा सुविधा दिने तयारीप्रति कांग्रेस सांसद यादवको आपत्ति
26 दिन पहिले प्रकाशित

काठमाडौं, चैत ३ गते । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिने तयारीप्रति कडा विरोध जनाएका छन्। उनले मुलुक आर्थिक रूपमा कमजोर अवस्थामा रहेको बेला यस्तो निर्णय गर्नु अनुचित भएको बताए।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले वर्तमान अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानून बनाउन खोजिएको खबर आएको भन्दै आपत्ति जनाए। उनले देशको आर्थिक संकटलाई ध्यानमा राख्दै अहिले सुविधा घटाउने बेला भएको उल्लेख गरे। त्यसक्रममा उनले सांसदहरूको समेत सुविधा कटौती गर्नुपर्ने प्रस्ताव राखे।
सांसद यादवले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको, युवाहरू विदेश पलायन हुन बाध्य भएको र आम नागरिकले स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थितिमा सरकारको ध्यान जानु आवश्यक रहेको बताए। साथै, पूर्वविशिष्टलाई सेवा सुविधा दिने निर्णयबारे सरकारबाट स्पष्ट जानकारी गराउन सभामुखमार्फत अनुरोध समेत गरे।
कमेन्ट गर्नुहोस्
view comments