जनकपुरधाम वडा १६ मा निःशुल्क कम्प्युटर कक्षा सञ्चालन, युवाहरूलाई डिजिटल साक्षरताको अवसर
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा युवाहरूलाई लक्षित गरी निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिने भएको छ। सूचना प्रविधिको विकाससँगै डिजिटल साक्षरता आवश्यक रहेको भन्दै वडाध्यक्ष पजियारले आफ्नै पहलमा आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हुन्। यस तालिमले वडाका विद्यार्थी तथा बेरोजगार युवाहरूलाई कम्प्युटर सीप सिकाउने लक्ष्य लिएको छ।
यस कार्यक्रमअन्तर्गत ३ महिने र ६ महिने कम्प्युटर तालिम उपलब्ध गराइनेछ। वडाभित्रका इच्छुक विद्यार्थी तथा बेरोजगार युवाहरूलाई विशेष प्राथमिकता दिइनेछ। पजियारका अनुसार यो कार्यक्रमले डिजिटल साक्षरता अभिवृद्धि गर्दै रोजगारीका अवसरहरू बढाउने लक्ष्य राखेको छ। "सूचना प्रविधिको युगमा युवाहरूलाई प्रविधिसँग सुसज्जित बनाउनुपर्छ। यस तालिमबाट उनीहरूलाई प्रतिस्पर्धी बजारमा अवसर जुटाउन मद्दत पुग्नेछ," उनले बताए।
तालिम सञ्चालनका लागि आवश्यक उपकरण तथा प्रशिक्षकको व्यवस्था पूरा भइसकेको छ। यो कार्यक्रम विशेष गरी १४ देखि ३५ वर्ष उमेर समूहका कम्तीमा कक्षा ९ उतीर्ण युवाहरूका लागि सञ्चालन गरिनेछ। इच्छुक युवाहरूले चैत १२ गतेसम्म दर्ता गराउन सक्नेछन्। कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई प्रविधिमा दक्ष बनाउँदै उनीहरूको सीप विकास गर्नु हो।
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षा उद्घाटनका अवसरमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रविधिमैत्री युवाहरूको आवश्यकता बारे जोड दिए। उनले युवाहरूलाई प्रविधिमा दक्ष बनाउनु देशको आर्थिक, सामाजिक र व्यक्तिगत विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह लगायत वडाबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकहरूले यो तालिमले वडाका युवाहरूलाई नयाँ अवसर सिर्जना गर्ने र डिजिटल युगमा उनीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments