सगरमाथा संवादका लागि भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन परराष्ट्रमन्त्री दिल्ली जाने
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २१ गते । नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिन परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छिन्। भारतीय प्रधानमन्त्रीसँग भेटघाटका लागि नेपालका लागि भारतीय राजदूत डा. शंकर शर्माले समय मिलाइदिन भारतीय विदेश मन्त्रालयलाई अनुरोध गरेका छन्, तर हालसम्म सकारात्मक प्रतिक्रिया प्राप्त भएको छैन।
परराष्ट्रमन्त्री राणा मार्च १७–१९ मा आयोजना हुने रायसिना संवाद कार्यक्रममा भाग लिन भारत जानेछिन्। सोही अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर औपचारिक निमन्त्रणा दिने उनको तयारी रहेको छ। रायसिना संवादमा अर्थमन्त्री विष्णु पौडेल जाने कार्यक्रम तय भए पनि उनी नजाने भएपछि परराष्ट्रमन्त्रीलाई जिम्मेवारी दिइएको हो।
नेपाल सरकारले आगामी जेठ २–४ गते काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने तयारी गरिरहेको छ। यस कार्यक्रममा भारत, चीन, दक्षिण एसियाली मुलुकका सरकार प्रमुख तथा विज्ञहरूलाई आमन्त्रित गर्ने योजना छ। भारतीय प्रधानमन्त्री मोदीलाई पहिलो निमन्त्रणा दिन लागिएको छ भने अप्रिल २–४ मा थाइल्यान्डमा हुने विमस्टेक सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच साइडलाइन वार्ता गराउने प्रयास पनि भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments