भ्रमण आदेश रोकिएको आरोप, घिसिङद्वारा स्पष्टीकरण बुझाइयो
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन १५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्पष्टीकरण सोध्नकै लागि कात्तिकयता भ्रमण आदेश स्वीकृत नगरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। मन्त्री खड्काले मंगलबार सोधेको स्पष्टीकरण घिसिङले बिहीबार बुझाएका छन्।
बुझाइएको स्पष्टीकरणको बुँदा नम्बर २ मा घिसिङले भ्रमण आदेश स्वीकृत नगर्नु स्पष्टीकरणकै कारण भएको दाबी गरेका छन्। उनले २०८१ भदौ र असोज महिनामा गरिएको भ्रमणमा मन्त्रीबाट स्वीकृति प्राप्त भए पनि त्यसपछिका भ्रमणका लागि विधिवत् आदेश पेस गर्दा स्वीकृति रोकिएको उल्लेख गरेका छन्। उनका अनुसार, परम्परागत अभ्यासअनुसार खर्च निकासा हुने प्रक्रिया समेत रोकिएको छ।
घिसिङले ०८१ साउनदेखि फागुन १३ सम्म १४ पटक आन्तरिक र २ पटक भारत भ्रमण गरेको विवरण सार्वजनिक गरेका छन्। उनले मन्त्री खड्कासँगै ४ पटक आन्तरिक भ्रमण गरेको जानकारीसमेत दिएका छन्। उनका अनुसार, भदौ १२ मा मध्य भोटेकोशी जलविद्युत् कम्पनी, भदौ २४ मा संखुवासभा, असोज १० मा सुस्ता, र कात्तिक ३ मा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साइट कार्यालयमा मन्त्रीसँगै भ्रमण गरेका थिए। साथै, अन्य अवसरमा उनी एक्लै भ्रमणमा गएको विवरण पत्रमा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments