राष्ट्रिय मुक्ति पार्टीद्वारा सात सदस्यीय वार्ता कार्यदल गठन
2 महीना पहिले प्रकाशित

काठमाडौं , फागुन १५ गते । राष्ट्रिय मुक्ति पार्टीले रामनरेश रायको नेतृत्वमा सात सदस्यीय वार्ता कार्यदल गठन गरेको छ। पार्टीका अनुसार राष्ट्रिय मुक्ति क्रान्तिका लागि विचार मिल्ने शक्तिहरूबीच बृहत् मोर्चा निर्माण गर्ने उद्देश्यले उक्त कार्यदल गठन गरिएको हो। कार्यदलका सदस्यहरूमा सुमन साय्मी, केशवकुमार झा, सन्तोषकुमार मेहता, अनीलकुमार महासेठ, जिएन थारू र जुनतारा पुन मगर रहेका छन्।
पार्टीद्वारा जारी विज्ञप्तिमा हिमाल, पहाड, तराई–मधेसका सम्पूर्ण उत्पीडित समुदायहरूलाई एकताबद्ध गरी बहुल राष्ट्रिय राज्य नेपाल निर्माण गर्ने लक्ष्य रहेको उल्लेख छ। साथै, स्वदेशीय सभ्यता र संस्कृतिको पुनःस्थापना तथा आर्थिक क्रान्तिका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य भएको पार्टीको धारणा छ।
परिणाममुखी संघर्षका लागि संघर्षशील राजनीतिक शक्तिहरूसँग संवाद, सहकार्य र एकता आवश्यक रहेको पार्टीले जनाएको छ। पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माण गर्न उत्पीडित समुदायहरूलाई साझा संघर्षमा आउन पार्टीले आह्वान गरेको छ। सोही उद्देश्यका लागि आदिवासी जनजाति, मधेस केन्द्रित राजनीतिक शक्ति, सभ्यता-संस्कृति पुनःस्थापना तथा सुशासनका पक्षधरहरूसँग वार्ता गर्न कार्यदल गठन गरिएको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments