देशभर महाशिवरात्रि पर्व उल्लासपूर्वक मनाइँदै
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १४ गते । नेपालभरका शिव मन्दिरहरूमा आज महाशिवरात्रि पर्व विधिपूर्वक पूजा, आराधना र दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पर्वमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ। पण्डितहरूका अनुसार, परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले यस दिन पूजा, आराधना र दर्शन गर्दा यस लोकमा सुख–शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्। शिवजीको उत्पत्तिसँग सम्बन्धित यस पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्रिय दिनका रूपमा लिइन्छ। माघ महिनामा महादेवको रुद्रत्व (जगत्लाई रुवाउने वा संहार गर्ने तत्व)का कारण पत्रविहीन भई जीर्ण भएका रूख, बिरुवा तथा झारहरू फागुनमा महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने भएकाले शिवरात्रि मनाउने प्रचलन रहेको छ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवलाई प्रिय दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।
बुधबार जनकपुरधामस्थित राम मन्दिर परिसरमा रहेको महादेव, भूतनाथ मन्दिर, शिव चोक, कपलेश्वर, कुवारामपुर, महेन्द्रनगरस्थित क्षीरेश्वरनाथ, बर्दिवासस्थित टुटेश्वरनाथ, जलेश्वरस्थित जलेश्वरनाथ मन्दिरलगायतका विभिन्न शिवालयहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। देशभरका शिवालयहरूमा भक्तजनहरूको उत्साहजनक सहभागिताले महाशिवरात्रि पर्वलाई उल्लासमय बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments