केआईआईटीका पदाधिकारीहरू धरौटीमा छुटे

2 महीना पहिले प्रकाशित

 

काठमाडौं, फागुन ७ गते । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना व्यक्तिहरूलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । यी पाँचमध्ये तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई २० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको ओडिसा टीभीले जनाएको छ ।

यो घटना २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसँग जोडिएको छ, जसलाई आइतबार अपराह्न युनिभर्सिटीमा मृत अवस्थामा भेटिएको थियो । उनले आफूमाथि भएको मानसिक दुर्व्यवहार र ब्ल्याकमेलको बारेमा दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले यसलाई गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो । यसपछि विद्यार्थीहरूले न्याय माग्दै गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो, जसले गर्दा भुवनेश्वर प्रहरीले केआईआईटीका उच्च पदाधिकारीहरूलाई पक्राउ गर्नुपरेको थियो ।

अहिले नेपाली विद्यार्थीहरूले सीसीटीभी फुटेज हेरेर दुर्व्यवहार गर्ने अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान हुनुपर्ने माग राखेका छन् । तर, पक्राउ परेकाहरू धरौटीमा छुटेका छन् । ओडिसा सरकारले यस घटनाको गहिरो छानबिन गर्न उच्च स्तरीय समिति बनाइसकेको छ भने दिल्लीस्थित नेपाली दूतावासका दुई जना कन्सुलरहरू पनि ओडिसामा पुगेर विद्यार्थीहरूसँग समन्वय गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?