प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा : विभिन्न क्षेत्रका प्रतिभाहरूलाई सम्मान
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकहरूलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ। टेलिमेडिसिन क्षेत्रमा डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनमा डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधिमा आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुने भएका छन्।
यस्तै, चिकित्सा क्षेत्रमा डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुदमा सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणमा रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवामा दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनेछन्। पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। यो पुरस्कार २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारले रु एक करोड थप गरी कोष स्थापना गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments