नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिलाई जनअधिकारको जग बताए
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ७ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनताले हाल उपभोग गरिरहेका सबै अधिकारको जग २००७ सालको क्रान्ति भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उनले फागुन ७ लाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा लिई सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट मनाउन आह्वान गरे। उनले यो दिनलाई जनताको अधिकार प्राप्तिको सन्दर्भमा कोसेढुङ्गा मान्नुपर्ने धारणा राखे।
फागुन ७ गतेलाई लोकतान्त्रिक राजनीतिक स्थापनाको मार्ग निर्देशन गर्ने दिनका रूपमा उल्लेख गर्दै डा. यादवले नेपालमा भएका विभिन्न राजनीतिक उतारचढावको उल्लेख गरे। उनले वि.सं. २०४६ र २०६२/०६३ को जनआन्दोलनको माध्यमबाट सामन्ती संस्थाको निर्मूल र नष्ट गरी मुलुक अघि बढ्न सकेको बताए। यी आन्दोलनहरूले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको उनको भनाइ छ।
अहिले मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै डा. यादवले यी परिवर्तनको मूल जरो २००७ सालको राजनीतिक परिवर्तन भएको टिप्पणी गरे। उनले प्राप्त उपलब्धि र विविधताको रक्षा तथा एकीकरण गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउँदै सबैका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक अधिकारको सुनिश्चितता गर्ने सुझाव दिए।
कमेन्ट गर्नुहोस्
view comments