मधेसमा जलवायु संकट: तीनै तहका सरकारबीच समन्वय आवश्यक
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ६ गते । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशका कारण मधेसका जलस्रोतहरू सुक्दै गएकाले यसको संरक्षणमा संघ, प्रदेश, र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ। जनकपुरधाममा आयोजित जलवायु अनुकूलनसम्बन्धी कार्यशालामा उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सबै पक्षको संयुक्त प्रयास जरुरी रहेको धारणा व्यक्त गर्नुभयो। मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जलवायु परिवर्तनका कारण जाडो कम हुनु, हिउँदमा पानी नपर्नु, गर्मी बढ्नु, र आगलागीको जोखिम बढ्नु जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै यसबारे सजगता अपनाउन आग्रह गर्नुभयो।
जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै वातावरणविद् मधुसुदन गौतमले मधेस प्राकृतिक विपद्को उच्च जोखिममा रहेको र पूर्वतयारी अपर्याप्त रहेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान प्रणालीको प्रभावकारिताका कारण धेरै धनजनको क्षति हुनबाट जोगिएको उदाहरण प्रस्तुत गर्नुभयो। प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. शिला मिश्रले वातावरण संरक्षणका लागि जनचेतना आवश्यक रहेको औँल्याउँदै मधेस बचाउन चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। चुरे विनाशले मधेसमा जलसंकट निम्त्याइरहेकाले तीनै तहका सरकारले मिलेर समाधान खोज्नुपर्ने माग उहाँले गर्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments