"सरकारसँग सहमति भएपछि पाथीभरा केबलकार आन्दोलन स्थगित"
7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २३ गते । नेपाल सरकार र पाथीभरा संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिपछि पाथीभरा केबलकारविरुद्धको आन्दोलन स्थगित गरिएको छ। मंगलबार राति काठमाडौंमा सम्पन्न वार्तामा केबलकार स्टेशनमाथिको निर्माण कार्य तत्काल रोक्ने तथा माघ २७ गते बस्ने अर्को वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए। साथै, सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने तथा माघ १२ गते भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
लिम्बु समुदायका प्रतिनिधिहरूले पाथीभरा क्षेत्रलाई आफ्नो पवित्र तीर्थस्थल ‘मुक्कुम्लुङ’ का रूपमा मान्ने भएकाले केबलकार निर्माणले धार्मिक एवं सांस्कृतिक सम्पदामा असर पुर्याउने दाबी गरेका छन्। यसै कारण, ‘नो केबलकार’ आन्दोलन चर्किएको थियो। आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूलाई रिहा गर्ने सहमतिसँगै सरकारले स्थानीय समुदायको चासोलाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ।
पाथीभरा केबलकार परियोजना हाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपद्वारा निर्माण भइरहेको छ। यसअघि परियोजनामा यती समूह र लक्ष्मी इन्टरकन्टिनेन्टल संलग्न थिए। गत नोभेम्बरमा शिलान्यास भएसँगै स्थानीयहरूले परियोजना आफ्नो सांस्कृतिक मूल्यविरुद्ध रहेको भन्दै विरोध जनाएका थिए। आन्दोलनरत पक्ष र सरकारबीचको अर्को वार्ताले परियोजनाको भविष्यबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments