कांग्रेस महाधिवेशनको मिति विवाद सतहमा
5 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २२ गते । नेपाली कांग्रेसको १५औं महाधिवेशन आम निर्वाचनअगाडि गर्ने कि पछाडि भन्ने विषयमा पार्टी नेताहरूबीच मतभेद सतहमा आएको छ। विधान र संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने बाध्यता रहे पनि संविधान संशोधन वा कुनै दलसँग एकीकरणमार्फत कार्यकाल लम्ब्याउने सम्भावनामा संस्थापन पक्षीय नेताहरूले जोड दिइरहेका छन्।
नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। तर, एक वर्ष थप्ने सुविधा समेत रहेकोले ०८३ मंसिरभित्र महाधिवेशन गराउनुपर्ने देखिन्छ। संविधानको धारा १६९ को उपधारा ४(ख) अनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। यदि ०८४ जेठभित्र महाधिवेशन सम्पन्न नभए कांग्रेसलाई संवैधानिक संकटको सम्भावना रहने विश्लेषण गरिएको छ।
०८४ को निर्वाचनअगाडि महाधिवेशन सम्पन्न हुनुपर्ने पक्षमा रहेका नेताहरूले विधानसम्मत प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएका छन्। महामन्त्री गगन थापाले संविधान र विधान विपरीत महाधिवेशन धकेल्ने सोचले कांग्रेसलाई दुर्घटनामा पुर्याउने बताए। उनले ०८४ को चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नेबाहेक अर्को विकल्प नभएको जिकिर गरे।
यसैबीच, पूर्वमहामन्त्री शशांक कोइराला लगायतका केही नेताहरू भने महाधिवेशन चुनावपछि सार्नुपर्ने पक्षमा छन्। उनीहरूका अनुसार, महाधिवेशनका कारण उत्पन्न हुने अन्तरिक विवादले आम निर्वाचनमा प्रभाव पार्न सक्छ। संसदीय दलको पछिल्लो बैठकमा पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले संविधान संशोधन गरी महाधिवेशन चुनावपछाडि सार्न सकिने तर्क अघि सारेका थिए।
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनेपछि मात्र महाधिवेशन गराउने चाहना राखेको संस्थापन पक्षका एक पदाधिकारीले बताएका छन्। एमालेसँगको सहमति अनुसार ०८३ साउनमा देउवा प्रधानमन्त्री बन्ने सम्भावना छ। त्यसपछि मात्रै महाधिवेशन गराउने उनको रणनीति हुन सक्ने आँकलन गरिएको छ।
पार्टीभित्र नेतृत्वका लागि मुख्य रूपमा शेखर कोइराला र गगन थापा सक्रिय देखिएका छन्। उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला भने सभापति देउवाको समर्थन खोजिरहेका छन्।
महाधिवेशनको मितिबारे स्पष्ट निर्णय नहुँदा पार्टीभित्र अन्योल बढ्दै गएको छ। मंगलबार र बुधबार पोखरामा ३७ जिल्लाका सभापति तथा उपसभापतिहरूको भेला आयोजना हुँदैछ। उक्त भेलाले कांग्रेस महाधिवेशनको भविष्यबारे थप संकेत गर्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments