प्रयागराज कुम्भमेलामा भागदौड: ३० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
3 महीना पहिले प्रकाशित

एजेन्सी प्रयागराज, माघ १७ गते । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार घटनामा कम्तीमा ६० जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ। महाकुम्भका डिआईजी वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स ले यो जानकारी दिएको हो। बुधबार मौनी अमावस्या (माघ कृष्ण औँसी) को अवसरमा हुन लागेको ‘अमृतस्नान’ का क्रममा भिड नियन्त्रणभन्दा बाहिर गएपछि दुर्घटना भएको बताइएको छ।प्रत्यक्षदर्शीहरूका अनुसार संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर भिडले ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो। प्रहरीको अवरोध पार गर्न खोज्दा बुधबार बिहान १ देखि २ बजेको बीचमा घटना भएको बताइएको छ।
उक्त दिन करिब १० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान गरिएको थियो, जसमा बिहान ८ बजेसम्म ३ करोडले स्नान गरिसकेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत मृतकहरूप्रति समवेदना प्रकट गरेका छन्। तर, विपक्षी दलका नेताहरूले सरकारको व्यवस्थापन असफल भएको भन्दै आलोचना गरेका छन्। कांग्रेसका नेता राहुल गान्धीले प्रशासनले भीआईपीहरूको सुविधामात्र ध्यान दिएको र सर्वसाधारणको सुरक्षामा लापरबाही गरेको आरोप लगाएका छन्। ४५ दिनसम्म चल्ने कुम्भमेलामा करिब ४० करोड तीर्थयात्री सहभागी हुने अनुमान छ, जसको भिड अन्तरिक्षबाट समेत देख्न सकिने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments