सर्लाही-रौतहट जोड्ने बागमती पुलको बिम चर्किँदा जोखिम बढ्यो

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने ५५ वर्ष पुरानो बागमती पुलको स्टिल बिम (गिर्डर) चर्किएर जोखिमपूर्ण अवस्था सिर्जना भएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवका अनुसार पुलको पूर्वतर्फ सात नम्बर स्परमाथि जडान गरिएको बिम करिब आठ सेन्टिमिटर चर्किएको छ, जसले पुलको संरचनात्मक क्षति बढाउँदै गइरहेको छ।

बिम चर्किएकोले पुलमा एकै पटक धेरै मालवाहक सवारी गुड्न थाले थप जोखिम निम्तिन सक्ने इन्जिनियर यादवको चेतावनी छ। यसलाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालयले पुलमाथि एकपटकमा एउटा मात्रै सवारीसाधन सञ्चालन गर्न अनुरोध गर्दै सर्लाही र रौतहट प्रहरीलाई पत्राचार गरे पनि प्रहरी स्रोतले हालसम्म कुनै पत्र प्राप्त नभएको जनाएको छ।

स्थानीय बासिन्दाहरूले पुल जीर्ण बनेकोबारे सडक डिभिजन कार्यालयलाई पटक–पटक ताकेता गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। हाल पुलको बिम नै चर्किएपछि यात्री तथा चालकहरू त्रसित छन्। स्थानीय भीमसेन थापाले समयमै मर्मत नगरिए ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। काठमाडौंस्थित पुल महाशाखालाई समेत जानकारी गराइसकिएको भए पनि तत्कालै समाधानका लागि कुनै पहल नभएकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?