प्रयागराज महाकुम्भमा भागदौड, १५ जनाभन्दा धेरैको मृत्युको आशंका
3 महीना पहिले प्रकाशित

एजेन्सी, माघ १६ गते । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाका क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशंका गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीहरूले घटनामा कैयौँ व्यक्ति घाइते भएको बताएका छन्। गएराति करिब १:३० बजे एउटा घाटमा अचानक भागदौड मच्चिँदा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। हालसम्म मृतक र घाइतेको आधिकारिक सङ्ख्या पुष्टि हुन बाँकी छ।
विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलामध्ये एक मानिने कुम्भ मेलामा आज अमृत स्नानका लागि दश करोडभन्दा बढी भक्तजनको उपस्थिति अपेक्षा गरिएको थियो। तर, भागदौडका कारण अमृत स्नान कार्यक्रम रद्द गरिएको छ। यद्यपि, हजारौँ श्रद्धालुहरू अझै पनि पवित्र स्नान गर्न प्रयासरत छन्। सुरक्षाकर्मीहरू भीड नियन्त्रण गर्दै सुरक्षित व्यवस्थापनमा जुटिरहेका छन्। यस वर्षको महाकुम्भ मेला जनवरी १३ देखि सुरू भई हालसम्म १५ करोडभन्दा बढी भक्तजनले गङ्गा स्नान गरिसकेका छन्।
कमेन्ट गर्नुहोस्
view comments