भारतमा रेल दुर्घटना: १२ जनाको मृत्यु, ३ नेपाली नागरिकको पनि ज्यान गयो
3 महीना पहिले प्रकाशित

एजेन्सी, माघ १० गते । भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार बेलुका (हिजो) भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जलगाउँका जिल्ला कलेक्टर आयुष प्रसादले जानकारी दिएका छन्। मृतकहरूमध्ये नौ जना पुरुष र तीन जना महिला रहेका छन्। ज्यान गुमाउने १२ जनामध्ये तीन जना नेपाली नागरिक रहेको पुष्टि भएको छ। हालसम्म नेपाली नागरिकसहित सात जनाको शव पहिचान भइसकेको छ।
दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको बताइएको छ। कमला भण्डारीको घर नेपालका कैलालीको मोहन्याल गाउँपालिका–६ मा रहेको छ। दुर्घटना लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्लापछि सुरु भएको थियो। यात्रुहरू डराउँदै ‘अलार्म चेन’ तानेर रेल रोकेका थिए, जसपछि केही यात्रु हतारमा रेलबाट हाम फाले। विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले ती यात्रुलाई किचेको जलगाउँका मन्त्री गुलाबराव पाटिलले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments