"शहीद सत्य नारायण मेमोरियल कप" कपिलेश्वरमा सुरु भयो

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते ।  शहीद सत्य नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित "शहीद सत्य नारायण मेमोरियल कप" प्रथम आमन्त्रित क्रिकेट प्रतियोगिता मंगलबारबाट जनकपुरधामको वडा नं. १६, कपिलेश्वरमा विधिवत रूपमा सुरु भएको थियो।

प्रतियोगिता कपिलेश्वरको प्रहरी चौकीनजिक रहेको खेल मैदानमा सम्पन्न भएको थियो। उक्त उद्घाटन समारोहमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय उपसभापति बिमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

स्वागत मन्तव्य राख्ने क्रममा स्थानीय वडाध्यक्ष रामचन्द्र पंजियारले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको बताए। उनले युवाहरू कुलतबाट टाढा रही खेलमा सक्रिय भए भविष्य सुनौलो हुने धारणा व्यक्त गरेका थिए।

त्यस्तै, राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रीय सदस्य संजय चौधरीले पंचायतकालमा बेपत्ता भएका स्थानीय सत्य नारायण साह, एल.एन. साह लगायतका योद्धाहरूको अवस्थाबारे जानकारी नहुनु दुखद रहेको बताए। उनले विभिन्न सरकार आए पनि साहको अवस्था अझै अज्ञात रहनु चिन्ताको विषय भएको उल्लेख गरे।

माननीय बिमलेन्द्र निधिले खेलकुदले युवाहरूलाई ख्याति दिलाएको बताउँदै शारीरिक, मानसिक, र आर्थिक लाभ दिन सक्ने भएकाले खेलाडीहरूको भविष्य उज्ज्वल रहेको धारणा राखेका थिए।

खेलको उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह, वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पंजियार, बस व्यवसायीका अध्यक्ष मनोज चौधरी, उद्योग वाणिज्य संघका पदाधिकारी, सञ्चारकर्मी, तथा स्थानीय बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता शत्रुधन श्रेष्ठले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?